विराटनगर । केही दिन अघि कोशी प्रदेश सरकारले गठन गरेको सङ्कटग्रस्त सहकारी व्यवस्थापन समितिले काम थालेको छ ।
समितिको सिफारिसमा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई  समस्याग्रस्त सहकारी घोषणा गरेको छ। १३ हजार बचतकर्ताबाट ६१ करोड रुपैयाँ भन्दा बढी हिनामिना भएको अम्बे बचत तथा ऋण सहकारीमा बचत कर्ताको रकम फिर्ता गर्नका लागि थप अध्ययन भइरहेको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले दिएको जानकारी दिए ।
उनका अनुसार समितिले प्रदेशका अन्य अन्य समस्याग्रस्त सहकारीहरूको पनि अध्ययन गरिरहेको बताए ।  अम्बे कोशी बचत तथा ऋण  सहकारीले विराट चोक, विराटनगर र दमकमा शाखा कार्यालय स्थापना गरे बचत तथा ऋणको कारोबार गर्दै आएको थियो ।
सहकारीमा सङ्कट उत्पन्न भएपछि बचतकर्ताहरू आन्दोलन गर्दै आएका छन् । बचतकर्ताको रकम फिर्ता नभएपछि  सहकारीका अध्यक्ष फणीन्द्र मगर हाल पुर्पक्षका लागि थुनामा रहेका छन् भने केही सञ्चालकहरू धरौटीमा रिहा भएका छन्।
कोशी प्रदेश सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा सङ्कटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो। समिति गठन भएको पाँच दिनपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो।सहकारीले फर्जी ऋणी खडा गरेर बचतकर्ताको रकम हिनामिना गरेको देखिएको थियो ।