विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक गर्न लागेको लगानी सम्मेलनको मिति सरको छ । लगानी सम्मेलन निर्देशक समितिको बैठकले आवश्यक तयारी पुरा नभएको भन्दै वैशाखमा गर्ने गरी लगानी सम्मेलनको सारिएको हो ।

प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । लगानी सम्मेलन व्यवस्थापनको तयारी नपुगेकाले लगानी सम्मेलनको मिति सारिएको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आवश्यक व्यवस्थापन पुरा नभएकाले लगानी सम्मेलनको मिति सार्नु परेको बताए ।

उनले एक दुई दिन भित्रमा नयाँ मितिका बारेमा निर्णय हुने बताए । लगानी सम्मेलनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समितिसहित ५ वटा विभिन्न समिति निर्माण गरिएको थियो । यस्तै व्यवस्थापनको लागि छुट्टै सचिवालयको कार्यालयसमेत सञ्चालन गरिएको थियो । पहिलो पटक आयोजना हुन लागेको प्रदेश स्तरमा लगानी सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राख्ने तय गरिसकेको छ ।

ती ३७ आयोजनाको लागत १ खर्ब चार अर्ब ८५ करोड रहेको छ । जसअनुसार २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्ट छन् ।यस्तै १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको १ वटा आयोजना, १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटनसम्बन्धी आयोजना छन् ।