विराटनगर । विराटनगरका पुराना वाम बुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । शनिवार विराटनगरमा जारी नेकपा (एमाले) को पाँचौँ बैठकबाट शर्मा एमाले प्रवेश गरेका छन् ।
विराटनगरस्थित पोष्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुन। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका शर्माले माओवादी विघटनको सङ्घारमा रहेको जनाउँदै जनताको लोकप्रिय पार्टी एमाले प्रवेश गरेको बताए । उनलाई नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोसी प्रदेश इन्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोसी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायतले एमालेमा स्वागत गरेकाे नेकपा (एमाले) कोसी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीम ज्वाला राईले बताए ।
त्यस्तै नेकपा (एमाले) कोसी प्रदेशको पाँचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता कार्यकर्ता पुग्ने गरी तीन महिना जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको छ । माघदेखि चैतसम्म सञ्चालन हुने अभियान परिचालन गर्ने गरी पार्टी कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव भएको र सङ्गठनात्मक कामको प्रस्ताव पार्टी कोसी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरिएको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीम ज्वाला राईले बताए। राइका अनुसार आइतबार अभियानको अवधारणा र परिभाषित कामका बारेमा विराटनगरमै अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको र उक्त अभिमुखीकरणमा प्रदेशमा रहेका केन्द्रीय नेताहरू, प्रदेश कमिटीका सम्पूर्ण, जिल्ला कमिटीका पदाधिकारीहरू र जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरू सहभागी हुने राईले जानकारी गराए ।