सुनसरी । जिल्ला सुरक्षा समिति सुनसरीले भीड एवं दङ्गा नियन्त्रण तथा कर्फ्यु आदेशको नमुना अभ्यास प्रदर्शन गरेको छ ।
इनरुवामा आइतबार गरिएको अभ्यास प्रदर्शनमा आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न प्रहरी सहित नेपाल आर्मी, सशस्त्र प्रहरी सहितको सहभागितामा प्रहरीले सुरक्षा निकायद्वारा स्थिति नियन्त्रण नमुना अभ्यास गरिएको हो ।
विभिन्न घटनालाई लिएर जुनसुकै बेला हुने आन्दोलनबाट नागरिकको सुरक्षा र धनजनको क्षति रोक्नका लागि नमुना अभ्यास गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनुभयो ।
तीन वटै सुरक्षा निकायबिच आपसमा समन्वयन अघि बढाउँदै प्रभावकारी भूमिका खेल्न र धनजनको क्षति रोक्नका लागि नमुना अभ्यास प्रभावकारी हुने भएकोले पूर्व अभ्यासमा सुरक्षाकर्मी जुटेको मिश्रले बताउनुभयो ।
नमुना अभ्यासमा आवश्यकता अनुसार थप बल र साधनहरूको परिचालन, गिरफ्तार, घाइतेको उद्धार, सार्वजनिक तथा भौतिक सम्पत्तिको सुरक्षा लगायतमा नमुना प्रदर्शन गरिएको थियो ।