विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठानले मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगिता माघ १६ मा गर्ने भएको छ । विगत वर्षहरू देखि नै स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको वादविवाद प्रतियोगिता यो वर्षदेखि चुडाकवि फाउन्डेसनले गर्न लागेको हो । स्मृति बोर्डिङ स्कुल, बुढीगंगा–३ को समन्वयमा चौथो जिल्ला स्तरीय मा.वि. वादविवाद प्रतियोगिता यही माघ १६ गते हुनेछ । माघ ९ गते नै गर्ने तयारी गरिएको भए पनि सहिद दिवसको अवसर पारेर माघ १६ गतेलाई तय गरिएको आयोजकले जनाएको छ।
‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकमा हुने वादविवाद प्रतियोगितालाई भव्य बनाउने काम अन्तिम चरणमा पुगेको चुडाकवि फाउण्डेशका महासचिव एवम् स्मृति बोर्डिङ स्कुलका प्रिन्सिपल रिता न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा उत्कृष्ट हुने पक्ष र विपक्षका प्रथम द्वितीय र तृतीयलाई नगद सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र ११ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ ।
मोरङ जिल्ला अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत मा.वि. विद्यालयबाट छात्र÷छात्रा–१÷१ जना मात्र समावेश गरिने जनाइएको छ । प्रवेश शुल्क: प्रति विद्यालय २ हजार एक सय तोकिएको छ।
प्रतियोगितामा सिस्नु पानी नेपालका सचिव एवम् जेन्टसेवियर्स क्याम्पसका सरोज घिमिरे, लेखक तथा साहित्यकार सुविन भट्टराई र कस्तुरी कलेज इटहरीका निर्देशक भेषजा काफ्लेले निर्णायकको भूमिका निभाउने छन् ।
सोही अवसर पारेर स्वयंसेविका सम्मान समेत गर्ने कार्यक्रम रहेको छ। बुढीगंगा गाउँपालिकामा रहेका ३८ जना महिला स्वयम् सेविकालाई प्रतिष्ठानले सम्मान गर्ने महासचिव न्यौपानेले जानकारी दिइन् । निरन्तर नागरिकको सेवामा लागेको भन्दै उनीहरूको सम्मान गर्न लागिएको हो ।