सुनसरी । कोसी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले यातायात क्षेत्र सुधार कोलागि चासो दिएको छ। यातायात क्षेत्रको समस्या समाधान गर्नकोलागि आवश्यक पर्ने थप ऐन तथा कानुनको विषयमा छलफल भएको हो ।
समितिका सदस्यहरूले सोमबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सरोकारवाला निकायहरूको भेला बोलाएर विद्यमान ऐन, कानुन अन्तर्गतको सुधार गर्नुपर्ने र थप गर्नुपर्ने कानुनी प्रावधानका बारेमा सुझाव लिएको छ । छलफलमा यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले बनाएको नियमावली, निर्देशिका र कार्यविधि कार्यान्वयनमा देखिएका अप्ठ्यारा र चुनौतीको विषयमा सुझाव लिइएको समितिका सदस्य रमेश बस्नेतले जानकारी दिए । यसअघि समितिले झापाको बिर्तामोडमा सुझाव लिएको थियो । दुवै ठाउँबाट आएको सुझावलाई समेटेर आन्तरिक मामिला तथा कानुन मन्त्री समक्ष छलफल गरेर आवश्यक कानुन निर्माणको लागि प्रदेश सभामा सुझाव सहितको प्रतिवेदन पेस गरिने उनले जानकारी दिए ।
प्रदेश सरकारका नियमावलीहरू सङ्घीय सरकारसँग बाझिएको र करको विषयमा समेत देखिएको अन्यौलता हटाउन समितिले थप पहल गरेको न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले जानकारी दिइन । छलफलमा यातायात व्यवसायी तथा मजदुरहरूले विभिन्न बहानामा दोहोरो तथा तेहेरो कर तिर्नुपरेको, रुट परमिट लिँदा झन्झट बेहोर्नुपरेको र सवारी चालक अनुमति पत्र लिन सास्ती खेप्नुपरेको गुनासो गरेका थिए । प्रदेश तथा सङ्घीय सरकारले यातायात क्षेत्रलाई विभिन्न बहानामा कर असुल्ने थलो बनाएको भन्दै उनीहरूले मजदुर, व्यवसायी तथा यात्रुमैत्री कानुनमा ल्याउन सुझाव दिएका छन् ।