लेटाङ । ‘लेटाङ रन टेन के’ म्याराथन प्रतियोगिता नागेश्वर, सुमित्रा र विजय प्रथम भएका छन्  ।  मोरङको लेटाङ ३ स्थित कलमपुर टोल विकास संस्थाको आयोजनामा भएको प्रतियोगितामा ३७५ जना सहभागी थिए ।
‘लेटाङ रन टेन के’ नाम दिइएको १० किलोमिटर लामो म्याराथन प्रतियोगितालाई लेटाङ नगरपालिकाले खेलकुदको प्रवर्द्धनसँग जोडेको छ । कमलपुरस्थित खेलमैदानबाट सुरु भएको दौड लेटाङ–कानेपोखरी सडकको कमलपुर गेट हुँदै लेटाङ बजार सिरानसम्म पुगेर पुनः कमलपुरस्थित खेल मैदान आएर सम्पन्न भएको थियो ।
प्रतियोगितामा खुल्ला पुरुषतर्फ नागेश्वर अहिर प्रथम, सञ्जय श्रेष्ठ द्वितीय र पुरन राई तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३६ हजार, २० हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।  
महिलातर्फ सुमित्रा चौधरी प्रथम, इन्द्रकला लिम्बू द्वितीय र पुष्पा शेर्मा तृतीय भए । प्रथम द्वितीय र तृतीयलाई क्रमशः  १० हजार,  ६ हजार र  ४ हजार नगद  मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 
 पुरुष भेट्रान दौडमा विजय कुमार राई प्रथम, अभिनारायण अधिकारी द्वितीय र राजकुमार तामाङ तृतीय भएका छन् । उनीहरूले क्रमशः ७ हजार, ५ हजार, र ४ हजार नगद सहित मेडल र प्रमाणपत्र पाएका छन् । यसैगरी महिला र पुरषतर्फ उत्कृष्ट १३ मा पर्ने खेलाडीहरूलाई पनि प्रमाणपत्रसहित  पुरस्कार प्रदान गरिएको छ ।  पुरस्कृत हुने खेलाडीलाई कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राई,  पूर्वसांसद् घनश्याम खतिवडा, लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला लगायतले  पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरे ।  

लेटाङ बजारलाई सौन्दर्यीकरण गर्ने उद्देश्यसहित आयोजित यस प्रतियोगितामा लेटाङ घर भई हाल रोजगारीका लागि बेलायतमा रहेका सन्तोष राईले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ।