विराटनगर । भूकम्प सुरक्षा दिवसको अवसरमा कोसी प्रदेश सरकारले दिउँसो एउटा कार्यक्रम आयोजना गरेको थियो । सचेतना जनाउने उद्देश्यले आयोजना भएको कार्यक्रममा हल भरी सहभागी हुनेछन् भन्ने थियो । मुख्यमन्त्री कार्यालयका सचिव सहित कोसी प्रदेश सरकारका सबै मन्त्रीहरूलाई बोलाइएको थियो ।
११ बजेलाई तय भएको कार्यक्रममा सहभागी हुन पूर्वी पृतनाका पृतनापति पवनराज घिमिरे, कोसी प्रदेश प्रहरी कार्यालयका डिआइजी राजन अधिकारी, सशस्त्र प्रहरीका एसएसपी सहित राष्ट्रिय अनुसन्धानका निर्देश इन्द्र लामा समेत सहभागी थिए । उनीहरू समयमा नै कार्यक्रममा पुगेको भए पनि झन्डै आधा घण्टा पछि आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी हलमा पुग्दा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार साह र स्वास्थ्य मन्त्रालयका सचिव डा राधिका थपलिया बाहेक आयोजक मन्त्रालयका निमित्त सचिव कमल थापाको उपस्थिति थिएन । दिवस मनाउनकोलागि सबै मन्त्रालयका सचिवहरूलाई जानकारी गराइएको भए पनि उनीहरू आएनन् । कार्यक्रम सुरु भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव थापाले भूकम्पीय सुरक्षाबाट बच्न सबै लाग्नु पर्ने र बलियो संरचना बनाउँदा मात्रै पनि क्षति रोक्न सकिने भएकोले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।
अन्तरक्रिया भनिएको उक्त कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुख र केही अधिकृतहरू र तीन वटा मन्त्रालयका सचिव र केही एक–दुई जना विज्ञ र केही पत्रकार मात्र थिए ।
प्रस्तुतीकरणमा विज्ञ रामप्रसाद दहालले २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउनु थालिएकोले यो २७ औ दिवसको रूपमा मनाइएको बताए । लगत्तै भवन ऐन कार्यान्वयनको अवस्थाको बारेमा भौतिक पूर्वाधार सचिव साहले जानकारी गराएका थिए । भूकम्पीय सुरक्षा मापदण्ड अनुसारका संरचनाको लागि भवन संहिता कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले भवन ऐन कार्यान्वयन गर्ने वातावरण सरकारले बनाउने बताए । उनले भएको कानुन कार्यान्वयनमा नगएको भए तत्काल कार्यान्वयनमा लग्ने, कानुन बनाउनु पर्ने अवस्था भए बनाउने प्रतिबद्धता जनाए । प्रदेश सरकार भूकम्प मैत्री पूर्वाधार निर्माण कोलागि प्रतिबद्ध छ, उनले भने, पुराना कानुनलाई सच्याउनु पर्ने भए सच्याउन पनि तयार छ र नयाँ कानुन बनाउनु पर्ने भए पनि तयार छ ।’ कार्यक्रममा क्षेत्रगत र विषयगत क्षेत्रका सङ्घ संस्थाहरूको कार्यक्रममा सहभागिता कमजोर रहेको थियो ।