विराटनगर । कोसी प्रदेशका सभामुख अमरबहादुर विष्टले पत्रकारिता क्षेत्रले सार्वजनिक जिम्मेवारीको भूमिका खेल्न आग्रह गरेका छन् । उनले पत्रकारहरू कुनै दलको भन्दा पनि निष्पक्षताको आधारमा निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताए ।
संसदीय पत्रकार मञ्च कोसी प्रदेशले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता हाते किताब’को बिहीबार विराटनगरमा विमोचन गर्दै उनले सार्वजनिक जिम्मेवारीमा बसेकाहरूलाई ठिक ढङ्गबाट निगरानी गर्नुपर्ने बताएका हुन् ।
पत्रकारिता क्षेत्रको गहन जिम्मेवारी रहेकोले समाचार सम्प्रेषण गर्दा आफू नजिकका वा आफूसँग राम्रो सम्बन्ध भएकाहरूलाई प्राथमिकता दिने तर राम्रो मुद्दा उठान गर्नेहरूलाई ठाउँ नदिनेजस्तो अवस्था बनाउनु नहुने बताए । कसैलाई काखा पाखा नगरी सार्वजनिक जिम्मेवारी लिएकाहरूलाई निरन्तर खबरदारी गर्दै पत्रकारिता अगाडि बढाउन आग्रह गरे । उनले जिल्ला तहमा पनि संसदीय पत्रकारिताको अभ्यास गराउन जरुरी रहेको बताउँदै पत्रकारहरूलाई आवश्यक तालिम दिने आदि काममा प्रदेशसभाबाट सकारात्मक सहयोग हुने प्रतिबद्धता जनाए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले हाते किताब पत्रकारका लागि मात्र नभएर प्रदेशसभाका सांसदहरूका लागि समेत उपयोगी रहेको बताए । संसदीय पत्रकार मञ्चले राम्रो सुरुवात गरेको तर पुस्तकमा केही विषय अपुग रहेको भन्दै आगामी संस्करणमा थप समृद्ध बनाउँदै लैजान सुझाव दिए । पत्रकारहरूले सांसदलाई समाचारको प्रमुख स्रोतको रूपमा लिनुपर्ने भन्दै कार्य व्यवस्था समिति, संसदीय समिति, विधेयक आदि धेरै क्षेत्रबाट पत्रकारले आवश्यक समाचार तयार पार्न सक्ने भएकोले त्यसतर्फ विशेष निगरानी गर्न पनि आग्रह गरे ।
उपसभामुख सिर्जना दनुवारले कोसी प्रदेशको संसदीय पत्रकार मञ्च अन्य प्रदेशको तुलनामा सक्रिय र प्रभावकारी रहेको दाबी गरिन् । हाते किताबमा भएका विषयमा पत्रकारहरू अभ्यस्त भए पनि पुस्तिका सांसदहरूका लागि समेत उत्तिकै सान्दर्भिक रहेको बताइन् । कार्यक्रममा सामाजिक विकास समितिका सभापति गयानन्द मण्डल, न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विदुर लिंथेप, प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुली लगायतले संसदीय पत्रकार मञ्चले संसद्को निगरानी र खबरदारी दुवै गर्ने काम सहित नयाँ नयाँ कामको सुरुवात गरेको भन्दै प्रशंसा गरे ।
संसदीय पत्रकार मञ्चका सल्लाहकार विवेक गौतम, लिलाबल्लभ घिमिरे, विक्रम लुइँटेल संसदीय रिपोर्टिङ गरिरहेका र नयाँ प्रवेश गर्ने पत्रकारहरूलाई सांसदभित्र समाचारको स्रोत, शैली, आचरण आदि विषय पुस्तकमा समावेश रहेको जानकारी गराएका थिए ।