सुनसरी । जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जना पुरुषको मृत्यु भएको छ ।
शुक्रवार राती छावा सहित बस्ती पसेको हात्तीको आक्रमणबाट सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मध्यरातमा हात्ती आएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चा सहित आएको माउ हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै ज्यान गएको थियो ।
यसअघि गत पुस १५ गते पनि सुन्दरहरैँचा नगरपालिका ५ स्थित नमुना सामुदायिक वनमा स्थानीय गुरुङ टोल बस्ने ६० वर्षीय चन्द्रकुमारी लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
पछिल्लो समय सुन्दरहरैचा आसपासको क्षेत्रमा जङ्गली हात्तीको आतङ्कबाट स्थानीय त्रसित भएका छन् ।