सुनसरी । पूर्वेली भेट्रान क्लब झापाले पांचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको मैदानमा शनिवार भएको उद्घाटन खेलमा पूर्वेली भेट्रानले हाम्रो धरान भेट्रान क्लब माथि २–० को सहज जीत निकाल्दै विजयी सुरुवात गरेको हो ।
झापाली टिमका लागि नगेन्द्रमणि लिम्बु र प्रेमकुमार लिम्बुले एक–एक गोल गरे । नगेन्द्रले खेलको तेस्रो र प्रेमले २१ औँ मिनेटमा गोल गरेका हुन । पहिलो हाफमा २–० ले पछि परेको धराने टिमले दोस्रो हाफमा पुनरागमन गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । खेलको म्यान अफद म्याच विजयी टिमका नेगेन्द्रमणी घोषित भए ।
उनलाई सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले नगद २ हजार ५ सय रुपैयाँ र टफी प्रदान गरे ।
आइतबार सिमरा भेट्रान क्लब बारा र आयोजक हाम्रो इटहरी भेट्रान क्लबबिच खेल हुने आयोजकका अध्यक्ष निर्मल तामाङले जानकारी दिए ।
माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।