विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना प्रथम भएकी हुन् । ‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखरिया माविकी छात्रा सिमरन सफल मैनाली द्वितीय भइन् । त्यस्तै सत्यनारायण माविकी छात्रा उमा न्यौपाने तृतीय हुँदा मिल्स माविका रोहित बैठाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । साहित्यकार हरि कट्टेल र स्वीकृति रेग्मी मुनाको निर्णायक समितिले विजेताहरूको नाम घोषणा गरेको थियो । विजेता विद्यार्थीलाई क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय र ७ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापापागाईं लगायतले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष न्यौपानेले विद्यालय–विद्यालयबिच र विद्यार्थी–विद्यार्थीबिच प्रतिस्पर्धी क्षमता विकासका लागि यस्ता कार्यक्रमले ठुलो भूमिका खेल्ने बताए । वडाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा काम गरिरहेको उनको भनाइ थियो । न्यौपानेले प्रतिष्ठानले गर्ने रचनात्मक कार्यका लागि आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले प्रतिष्ठानले मासिक कार्यक्रमअन्तर्गत कविता वाचन, पुस्तक विमोचन, पुस्तक समीक्षासहित अतिरिक्त कार्यक्रम पनि गर्दै आएको जानकारी दिइन् । उनले यस पटकको कार्यक्रममा विद्यार्थीको विद्यालय स्तरदेखि नै पाठ्यक्रमभन्दा बाहिरको पनि ज्ञान र बोल्ने कलाको विकास होस् भन्ने उद्देश्यले अन्तर सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको प्रस्ट पारिन् ।
कवि एवं पत्रकार मीनकुमार नवोदितले पाठ्यक्रमको ज्ञानसँगै बाहिरी ज्ञान पनि विद्यार्थीमा हुनु जरुरी रहेको औँल्याए । सीपमूलक र व्यवहारिक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त गर्ने उनको भनाइ थियो । नवोदितले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा बोल्ने कलाको विकास हुनुका साथै ज्ञानको भण्डारसमेत फराकिलो हुने धारणा राखे ।
प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रवार मासिक कार्यक्रम आयोजना गर्दै आएको महासचिव उमेश दाहालले जानकारी दिए । विराटनगर महानगर क्षेत्रभित्र ५६ वटा सामुदायिक विद्यालय छन् । प्रतिष्ठानले पहिलो पटक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेकाले ११ वटा विद्यालयलाई मात्रै सहभागिता गराएको कार्यक्रम संयोजक निर्मला कोइरालाले बताइन् ।