कोसी प्रदेश सभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रदेशसभाको बैठकका लागि प्रदेशसभा सचिवालयले तयारी सकेको छ ।

प्रदेश सरकारले पनि प्रदेश सभालाई प्रशस्त बिजनेस दिने गरी तयारी गरिरहेको छ ।

यो अधिवेशनमा करिब एक दर्जन विधेयक प्रदेश सभामा पेस गर्ने गरी सरकारले तयारी गरिरहेको छ ।

अधिवेशनका लागि प्रदेश सभा सचिवालयले सम्पूर्ण तयारी सकेको जनाएको छ ।

सरकारले मुख्य महान्यायाधिवक्ता काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८१, प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक २०८१ र प्रदेश बिउ विजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ प्रदेश सभामा पेस गरिसकेको छ ।

प्रदेश सभामा प्राप्त विधेयकहरू प्रदेश सभा सदस्यहरूलाई वितरण भइरहेको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । सरकारले पनि प्रदेश सभालाई प्रशस्त बिजनेस दिने गरी तयारी गरेको छ । वातावरण ऐनलाई संशोधन गर्ने विधेयक, विभिन्न अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकहरू, यातायात ऐनलाई संशोधन गर्ने विधेयक, आमसञ्चार विधेयक लगायतका विधेयक प्रदेश सभामा दर्ता हुने प्रक्रियामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।

सोमवारको बैठकमा प्रदेश सहकारी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१, विपद व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ र प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ प्रदेश सभामा पेस हुनेछन् । यसका अलावा प्रदेश सभाका शीर्ष नेताहरूले प्रदेश सभालाई सोमवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।