सुनसरी । सुनसरीको बरहक्षेत्रस्थित चक्रघट्टीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ६८ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यालयले वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई समेत सम्मान गरेको छ । स्व.दक्षरुपा मित्रलाल घिमिरे स्मृति प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । उद्योगी भीम घिमिरेले आफ्नो बुबा आमाको स्मृतिमा गठन गरेको प्रतिष्ठानले विद्यालयमा वार्षिक २ जना सर्वोत्कृष्ट विद्यार्थीलाई नगद सहित पुरस्कृत गर्न १ लाख ५१ हजारको अक्षयकोष स्थापना गरेका थिए । अक्षयकोषको ब्याजबाट वार्षिक २ जना सर्वोत्कृष्ट विद्यार्थी मध्ये एक जना छात्र र छात्रालाई ५ हजार १ सय नगद सहित पुरस्कृत गर्ने गरिएको विद्यालयले जनाएको छ। अक्षयकोषको रकमले २ जनालाई मात्र पुग्ने र बाँकीलाई एबिग्रूपले पुरस्कृत गरेको हो ।
वार्षिक उत्सवको अवसरमा बाल कक्षादेखि कक्षा १२ का विद्यार्थीलाई छात्रवृत्ति स्टेशनरी र नगद उपलब्ध गराइएको थियो । एबिग्रुपको सहयोगमा बाल कक्षा देखि ९ सम्मका ११ जना विद्यार्थीलाई नगद १ हजार १ सयको दरले प्रत्येक कक्षाका उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र र मेडल वितरण गरिएको विद्यालयले जनाएको छ । घिमिरेले विद्यालयका विपन्न विद्यार्थी कालागि भन्दै एक वर्षको लागि आवश्यक पर्ने कापी, कलम र ज्यामेट्रीबक्स समेत विद्यालयलाई हस्तान्तरण गरेका छन् । विद्यालयलाई आवश्यक पर्ने खेलकुदका सामाग्रीहरू चेस, लुँडो, फुटबल, भलिबल, नेट, रिङ, डोरी लगायतको सामाग्री उपलब्ध गराइएको प्रतिष्ठानका अध्यक्ष घिमिरेले जानकारी दिए । बुबा आमाको निधन पछि २०६८ सालदेखि नै छात्रवृति वितरण गर्दै आएकोमा २०७८ सालमा कोष स्थापना गरेर छात्रवृतिलाई ब्यवस्थित गरि हरेक वर्ष यसरी नै विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति उपलब्ध गराउने गरिएको उनले बताए ।
६८ औ वार्षिक उत्सवको अवसरमा विद्यालयमा योगदान गर्ने संस्थापकहरू रामबहादुर अधिकारी र भक्तबहादुर निरौलालाई मरणोपरान्त सम्मान गरिएको छ। पूर्व शिक्षक कैलाशप्रसाद गुप्ता, उत्कृष्ट अभिभावकहरू ३ जना, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी सहित ३ जनालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक चण्डीराज पोखरेलले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थी तथा सम्मानित हुने व्यक्तिहरूलाई कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी सम्मान गरेका थिए । कार्यक्रममा रैथाने सामाग्रीहरू प्रदर्शनमा राखिएको थियो । घिमिरे पत्नी संस्थापक अध्यक्ष अजिता बरालले हरेक वर्ष यसरी नै विद्यार्थीलाई पुरस्कृत गर्ने गरेको बताइन् । लायन्स क्लब अफ विराटनगर इन्नोभेटिभका अध्यक्ष रन्जीता खनाल पराजुलीले उक्त खेलकुद सामाग्री, स्टेसनरी र छात्रवृत्ति हस्तान्तरण गरिन् । संस्थापक अध्यक्ष अजिता पूर्व अध्यक्षहरू रिता पोख्रेल, जिनु श्रेष्ठ, प्रथम उपाध्यक्ष लक्ष्मी घिमिरे लायन्स अन्ताराष्ट्रिय गभर्नर विकास अधिकारी लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सामूहिक रूपमा सामान हस्तान्तरण गरे । ७५ हजार मूल्य बरावरको सामाग्री हस्तान्तरण गर्दै लायन्स अध्यक्ष खनाल र गभर्नर अधिकारीले यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
उद्योगी घिमिरेले विद्यालयमा नेपाली संस्कृति झल्किने खालको चिल्ड्रेनपार्क निर्माण थालेका छन् । आधुनिक सुविधायुक्त चिल्ड्रेनपार्कको आधा काम सकिएको विद्यालयले जनाएको छ ।