सुनसरी । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माण विरोधी आन्दोलनकारी र प्रहरी बिच झडप भएको छ । आन्दोलनकारीले हतियार राखेको भन्दै प्रहरीले सर्च अप्रेसन गरेपछि सङ्घर्ष समितिका आन्दोलनकारी र प्रहरी बिच झडप भएको हो । 
शनिवार प्रहरी टोलीलाई आन्दोलनकारीलाई छेकेपछि प्रहरीले बल प्रयोग गर्दै अश्रु ग्यास प्रहार गरेको छ । दोहोरो झडप भएपछि प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको हो । 
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार प्रहरीले तीन थान खुकुरी र एक थान गुलेली बरामद भएको छ । दुई पक्ष बिचको झडपमा तीन प्रहरी घाइते भएको अधिकारी खड्काले बताइन् । झडपमा केही आन्दोलनकारीहरू समेत घाइते भएको जनाइएको छ । 
मुक्कुमुलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङ्खिमका अनुसार एक आन्दोलनकारीलाई गोली लागेको बताएका छन् । ’प्रहरीले ज्यादती गरेपछि बलु डाँडामा दोहोरो भिडन्त भयो । कुम छेउमा एक जनालाई गोली लागेको छ’ लिङ्खिमले भने ’साथीहरू घाइतेको हुनु भएको छ । यकिन हुँदैछ ।’
प्रशासनले गोली नहानेको दाबी गरे पनि आन्दोलकारीहरु भने प्रहरीले फायर गरेको बताएछन् ।