इटहरी । मोरङको सुन्दरहरैँचामा नेपाली काँग्रेसका स्थानिय नेताहरुले वैचारिक संवाद सुरु गरेका छन् । ‘रुख मुनीको गन्थन मन्थन’ नाम दिएर राजनितिको वैचारिक बहस सुरु गरिएको हो । बीपी अध्ययन प्रतिष्ठान नेपाल मोरङले यो बहसको वातावरण मिलाएको हो । 

 शुक्रबार सुन्दरहरैँचा १० स्थित बागझोडामा पूर्वमेयर देखी पालिका सभापति तथा स्थानिय नेता कार्यकर्ताको उपस्थितमा ३ घण्टा लामो बहस गरियो । सुन्दरहरैँचाबाट सुरु भएको वैचारिक संवादलाई जिल्लाभर विस्तार गरिने बीपी अध्ययन प्रतिष्ठानले जनाएको छ । 

बागझोडाको पहिलो गन्थन मन्थनमा, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा प्रचार विभाग प्रमुख बाबुराम कोइराला, सुन्दरहरैंचा नगरपालिकाका पूर्वनगरप्रमुख शिवप्रसाद ढकाल, मोरङ सचिव ललित बहादुर श्रेष्ठ, सुन्दरहरैचा नगर सभापति भक्तिप्रसाद सिटौला र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ नगर सभापति अमृता लिम्बू प्यानलिष्ट थिए । 

प्रचार विभाग प्रमुख कोइरालाले ‘राजनीतिमा युवा सहभागिता, राजनीतिक महत्वकांक्षाका सीमाहरूको विषयमा आफ्नो धारणा राखे । 

मोरङ सचिव श्रेष्ठले सङ्गठन निर्माण र नेतृत्व पहिचानका आधारहरूको विषयमा टिप्पणी गरे । 

स्थानीय तहमा दलीय प्रतिनिधित्वको फाइदा÷बेफाइदा र दलको स्थानीय नेतृत्व सहकार्यको आवश्यकताको विषयमा पूर्व मेयर ढकालले अनुभव सुनाए ।  

महासङ्घ सभापति अमृता लिम्बूले राजनीतिमा महिला सहभागिता, अवसर र चुनौतीको ऐतिहासिक विषयवस्तु सहित खुलाइन् । वर्तमान समाजमा महिला नेतृत्वको चुनौतीको विषयमा आफ्नो अनुभव सुनाउँदै उनले यस्तै कार्यक्रममार्फत नेतृत्व विकासमा टेवा पुग्ने बताइन् ।  

प्रतिष्ठानका सचिव विनय बाह्रकोटी र मिराजजंग थापाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रन्जन ओझा, काँग्रेस प्रदेश सहमहामन्त्री खड्ग फागो, महासमिति सदस्य लोकप्रसाद सङ्ग्रौला र नगर उपसभापति शिव नारायण चौधरीले टिप्पणी गरेका थिए । 

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्वाङले लोकतन्त्रलाई जीवन्त बनाउन यस्ता संवाद र बहसले पाटिलाई चलायमान बनाउने बताए ।