विराटनगर । ताप्लेजुंगको पाथिभरामा केवलकार निर्माण शुरु गरेको बिरोधमा  आन्दोलनमा उत्रिएका पहिचान पक्षधरहरुलाई शसस्त्र प्रहरीले दमन गरेको भन्दै मेची राजमार्ग बन्दको आव्हान गरिएको छ ।पहिचान पक्षधरहरुले प्रहरीले दमन गरेको भन्दै मेची कोरिडोर समेत अनिश्चितकालिन बन्दको आव्हान गरेका छन्  । शसस्त्र प्रहरीले पाथीभरा ९मुक्कुमलुङ ० संरक्षणका पक्षधरहरुमाथि कुटपिट गरेको भन्दै बन्दको आव्हान गरिएको पहिचान पक्षधरहरुले बताएका छन् । केवलकार निर्माणको बिरोधमा उत्रिएका पहिचान पक्षधहरु र शसस्त्र प्रहरीका बिच हिजो दिउँसो झडप भएको थियो । झडपका क्रममा  प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । घाइते हुनेहरू याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, मंगल लावती रहेका छन् । घाइते मध्ये तेह्रथुमका यमबहादुर लिम्बु र पाँचथरको मिक्लाजुङ गाउँपालिका सगुन लावती र धर्मेन पालुङ्वालाई काठमाण्डौ लगिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजन अधिकारीले बताए । 

एक जना भने विराटनगरबाट उपचार पछि डिस्चार्ज भएका छन् । केवलकार निर्माणको बिरोधमा आन्दोलनमा उत्रिएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको छ ।

मंगलबारदेखि पाथिभरामा केबलकार निर्माण सुरु गरिएको थियो । केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरु गरेको ‘नो केबलकार समूह’ आज आइतबारदेखि थप आन्दोलन गर्ने तयारी गरेको थियो । त्यसको लागि आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडाँमा प्रहरी पुगेपछि आन्दोलनकारीले माथिबाट ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।