सुनसरी । कर्मचारी माथि दुर्व्यवहार भएको भन्दै इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् ।
गत शुक्रवार कार्यबहाक नगरप्रमुख संगिता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित केही वडा अध्यक्षहरूले प्रशासन शाखा प्रमुख सञ्जीव खड्कामाथि दुर्व्यवहार गर्नुका साथै प्रशासन शाखामा तालाबन्दी गरेपछि उनीहरू आन्दोलित बनेका हुन ।
प्रशासन शाखा प्रमुख खड्काले वडा कार्यालयहरूमा ’सर्भर डाउन’ गर्दिएको आरोप लगाउँदै चौधरी सहितका वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख खड्का माथि आक्रामक बन्दै गाली गलौजमा उत्रिएपछि त्यसको निन्दा गर्दै कर्मचारीहरूले कार्यालयको काम ठप्प पारेका छन् ।
आइतबार कार्यकक्षमा प्रवेश नगरी कार्यालय परिसरमा भेला भएका कर्मचारीहरूले ४८ घण्टाभित्र चौधरीले लिखित आत्मालोचना गर्नुपर्ने र कर्मचारीलाई सुरक्षाको अनुभूति दिलाउनुपर्ने भन्दै विरोध सुरु गरेका हुन ।
४८ घण्टाभित्र माग पुरा गरी प्रशासन शाखामा लगाइएको ताला खोल्न सहजीकरणको लागि भन्दै कर्मचारीले नगरप्रमुख हेमकर्ण पौडेललाई ज्ञापन पत्र समेत बुझाएका छन् । समय सीमा भित्र माग पुरा नभए थप आन्दोलनको घोषणा गरिने एकीकृत सरकारी कर्मचारी सङ्गठनका सुनसरी अध्यक्ष गणेश भटराईले बताए ।
ज्ञापन पत्र बुझ्दै दुई साता लामो बिदा पश्चात् आइतबारदेखीनै हाजिर भएका नगरप्रमुख पौडेलले समय सीमा भित्र माग पुरा गर्नका लागि संवाद थालिसकेको बताए ।