विराटनगर । विश्वास परियोजना अन्तरगत फेरमेड नेपालले कोसी अस्पतालको कुष्ठरोग विभागलाई ५ लाख बारबारको सामाग्री हस्तान्तरण गरेको छ । 
७२ औ विश्व कुष्ठरोग दिवसको अवसर पारेर कोसी अस्पतालमा आयोजित कुष्ठरोग सम्बन्धी एक कार्यक्रममा फेरमेड नेपालले उक्त सामाग्री अस्पताललाई हस्तान्तरण गरेको हो । 
उक्त सामग्रीमा कुष्ठरोग र हातिपाइले प्रभावित बिरामीहरूको लागि आवश्यक औषधि, चिकित्सा उपकरण, स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक अन्य सामग्रीहरू साथै सेल्फ केयरका सामग्रीहरू रहेका छन् ।  
कोसी अस्पतालका पूर्व मेसु तथा छाला तथा यौन रोग विभाग प्रमुख डा.चन्द्रभाल झालाई सामाग्री हस्तान्तरण गर्दै फेरमेड नेपालका टिम लिडर डम्बर सिंह गुरुङले कुष्ठरोगको उपचारमा कोसी अस्पतालले उत्कृष्ट सेवा दिएको कारण सेवालाई थप गुणस्तर र प्रभावकारी बनाउन फेरमेडले सहयोग स्वरूप सामाग्री उपलब्ध गराएको बताए । उनले अगामी दिनमा पनि आवश्यक सहयोग गर्न फेरमेड सधैँ तयार रहेको समेत बताए । 
IMG-20250126-WA0021
अस्पतालका पूर्व मेसु तथा छाला तथा कुष्ठरोग विशेषज्ञ डा. चन्द्रभाल झाले अस्पतालको कुष्ठरोग विभागका लागि अस्पतालले बजेट नछुट्याएका कारण व्यवस्थित हुन नसेको विभागलाई फेरमेडले उपलब्ध गराएको  उपचार सामाग्रीहरूको सहयोगले उपचार सेवा थप प्रभावकारी र गुणस्तरीय सेवा दिन सहयोग पुग्ने बताए ।
फेरमेट नेपालको सहयोगमा कुष्ठरोग विभागको ल्याब, औषधि, विभागका फाइलहरू सबै व्यवस्थित बनेको छ, डा.झाले भने ‘फेरमेड नेपालको उक्त सहयोग सामग्रीले अस्पताललाई कुष्ठरोग उपचार सेवालाई थप गुणस्तर र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएका छौ ।’ 
कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेत, एनएलआरका  पूर्व प्रतिनिधि लवी शाक्य , जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रमुख मुलुकचन्द्र राजवंशी लगायतले कुष्ठरोग निवारणका लागि सबै एकबद्ध भई लाग्नु पर्ने धारणा व्यक्त गरेका थिए भने कार्यक्रममा सहभागी कुष्ठरोग बिरामीहरूले उपचारका क्रममा भोग्नुपरेको कठिनाइका बारेमा आफ्ना अनुभवहरू सुनाएका थिए ।