सुनसरी । सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सोमबार सरोकारवालाहरुको भेला बोलाई जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा एचपिभी खोप लगाउन लागिएको जनाएको हो ।
माघको २२ गतेबाट फागुन २ गते सम्म चल्ने खोप अभियानमा सुनसरीका ४८ हजार ८ सय ५६ जना बालिकालाई समेटिने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले खोपका लागि सबै विद्यालयमा पुग्ने गरी स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाएको छ । विद्यालयको पहुँच भन्दा बाहिर रहेका उमेर समूह भित्रपर्ने बालिकाहरुको हकमा भने अभियानको अन्तिम दिन फागुन २ गते शिविर सञ्चालन गरी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
एचभिपी खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको भएकाले सबै १० देखि १४ वर्ष उमेर भित्रका बालिकाहरुको लागि अनिवार्य रहेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईले बताए ।
खोप अभियानलाई सुनसरीमा सतप्रतिशत पुर्याउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ । कार्यालयले अभियानमा साथ र सहयोगका लागि सबै सरोकारवाला समक्ष आग्रह समेत गरेको छ ।