सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल पत्रकार महासंघले लगाएको आरोप पुष्टि गर्न चुनौति दिएका छन् । 

नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई सोमबार धरानका पत्रकार गोपाल दाहाललाई धम्की दिनेलाई कानुनी कारबाही नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । 

सोही विषयमा असन्तुष्टि जनाउँदै मेयर साम्पाङले महासंघले लगाएको आरोप पुष्टि गर्न चुनौति दिएका हुन । मेयर साम्पाङले एक विज्ञप्ती जारी गर्दै ‘ पत्रकारलाई धम्की दिएको भन्ने कुरा अनर्गल प्रचार गर्ने पत्रकार महासंघलाई मेरो चुनौति छ । कहाँ,कति बजे, कुन मिडियामा के कसरी धम्की दिएको हो मैले सो प्रमाणित गरिदिन चुनौति दिन्छु ।’

‘राजनितिक दलको आडमा, राजनितिक दलका पक्षमा पूर्वाग्राही ढंगले पत्रकारिता गरिन्छ भने लोकले त्यस्ता मिडिया विरुद्ध जनताले प्रतिवाद गरिनै रहन्छ ’ भन्दै विज्ञप्ती मार्फत मेयर साम्पाङले मिडिया माथी प्रतिवाद गर्ने संकेत पनि गरेका छन् । 

नेपाल पत्रकार महासंघले बुझाएको पत्रमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख गरेको थियो । 

सोमबार महासंघका अध्यक्ष, महासचिव लगायतको टोलीले गृहमन्त्रीलाई बुझाइएको पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्ने विरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दुष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख गरेको छ । 

‘अतः महासङ्घले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औँल्याएका जो कोहीलाई तत्काल कानुनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन महासंघ माननीय गृहमन्त्री समक्ष अनुरोध गर्दछ’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा माग गरिएको छ । 

पत्र बुझेसँगै गृहमन्त्री लेखकले महासङ्घको मागप्रति ध्यानाकर्षण भएको बताउँदै प्रेस स्वतन्त्रता हननमा संलग्नहरूलाई राज्यले कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए । 

सो घटना प्रति मेयर साम्पाङले विरोध जनाउँदै आएका थिए । सामाजिक सञ्जालमा विभिन्न पोष्ट गर्दै विरोध जनाएका थिए । 

जारी विज्ञप्ती,Harke Notice