सुनसरी । खोटाङबाट काठमाण्डौँ जाँदै गरेको टाटासुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
विरामी बोकेको ना १ ज ६४२१ नम्बरको सुमो गाडी खोला किनार खसेको हो । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित सडकबाट गाडी तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।
दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको जनाइएको छ ।
दुर्घटना राती भएको तर विहान मात्रै थाहा भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । दुर्घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।