विराटनगर । आफन्त नेपालले १८ औ स्थापना दिवस मनाएको छ । सीमा निगरानी, मानव बेचबिखन तथा ओसारपसार तथा लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्दै आएको यो संस्थाले दिवसको अवसरमा सरोकार राख्ने क्षेत्रका संघसंस्थासँग छलफल गरेको हो ।  आफन्त नेपाल विराटनगर कार्यालयका प्रमुख मनु रानाले एक वर्षमा सीमा नाकाबाट १२४ जनालाई बचावट तथा उद्धार गरेको जानकारी दिइन् ।
उनका अनुसार,  सीमा नाकाबाट १२ हजार ११७ सूचना प्रवाह गरेको छ । त्यस्तै ३ हजार २ सयलाई परामर्श दिएको पनि उनले बताइन ।  बचावट र उद्धार गरिएका १२४ जना मध्ये  १११ जनाको पारिवारिक पुनर्मिलन गराइएको जानकारी दिइन् । लैङ्गिक हिंसामा परेका ओसिएमसिबाट पनि केसहरू आउने गरेको संस्थाले जनाएको छ । संस्थाको तर्फबाट एउटा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको पनि जानकारी दिइन् ।
उद्धार गरेर पुनर्मिलन गराएकाहरू मध्ये १३७ जनालाई फोन फलाेअप गरिएको छ ।  सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार  तथा लैङ्गिक हिंसा नियन्त्रणका लागि महिला, किशोर र पुरुष रक्षक समूह पनि गठन गरिएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश खड्काले मनोरञ्जन क्षेत्रमा नियमित अनुगमन र नियमन गर्ने गरी सबै मिलेर लाग्न आग्रह गरे । अहिले पनि धेरै हाेटल, रेस्टुरेन्टलाई अनुगमन नगर्दासम्म सुधार हुनसक्ने अवस्था नभएको बताए । विराटनगरको रानी नाकाबाट सरदर दैनिक ५ जनाको उद्धार हुने गरेको बताए ।
विराटनगर महानगरपालिका वडा नम्बर  १८ का जितेन्द्र साहले वडा तहमा गठन भएका समितिहरू प्रभावकारी देखिएको बताए  । २ वटा महिला ३ वटा किशोरी समूह वडामा रहेकाले समुदायमा हुने हिंसाका घटनामा कमी आएको बताए । वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यलाल यादवले वडा तहबाट नै अभियान चलाउनु पर्ने बताए  ।
कार्यक्रममा सहभागीले हाेटल, रेस्टुरेन्ट, गजल तथा मसाज सेन्टरहरूमा किशोरीहरू जोखिममा रहेको बताएका थिए ।