विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।
विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको ‘ विराट एक्स्पो–२०२५’ को आज समापन कार्यक्रममा उद्यमी र व्यापारीलाई सम्मान गर्दै उनले स्वदेशी उत्पादन प्रयोगले मुलुकको राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राखे ।
मुख्यमन्त्री कार्कीले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनामा आकर्षण वृद्धि भएको चर्चा गर्दै प्रदेश सरकारका उद्योग स्थापनाका लागि आवश्यक नीति, कानूनको व्यवस्था गर्नुका साथै उद्यमीहरुसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त्त गरे । उनले प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते गर्ने लगानी सम्मेलनका लागि तयारी शुरु गरेको जानकारी दिदै यसको सफलताका लागि विभिन्न उद्योग संघ संगठनलाई आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन एक्स्पोले निकै मद्दत पुर्याएको बताए ।
उद्याेग संगठन माेरङका अध्यक्ष राकेश सुरानाले विराट एक्स्पोको ९ दिनमा २ हजार ५ सय विद्यार्थीलाई उद्यमी बनाउने प्रयास भएको बताए । याे काममा संगठनका पदाधिकारी, कार्यसमितिका सदस्य र संगठनका कर्मचारीहरूले दिनरात मेहनत गरेको उल्लेख गरे । संगठनले कोशी प्रदेश भित्रका विभिन्न कलेजको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई उद्योग र व्यापार सम्बन्धी प्रत्यक्ष जानकारी गराएकाे थियो ।