विराटनगर । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणको विरोधमा आन्दोलन चर्किँदै गएपछि सङ्घीय सरकारले वार्ता टोली गठन गरेको छ ।  केवल कार निर्माणको विरोधमा बन्द लगायतका विरोधका कार्यक्रम चर्किँदै गएपछि आन्दोलनरत पक्षहरूसँग वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

भट्टराई नेतृत्वका टोलीले आजैबाट काम थाल्ने छ । संयोजक भट्टराईले समितिको बैठक बसी आजै वार्ताका लागि औपचारिक आव्हान गर्ने बताए । उनले  भने,‘ वार्ता र संवादबाट समस्याको समाधान गर्न वार्ता टोल गठन भएको छ । यसका लागि आजैबाट काम थालिने छ । गृहमन्त्री स्तरको निर्णयबाट वार्ता टोली गठन गरिएको हो। 

वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका उप सचिव रहने छन् ।

ताप्लेजुङको पाथीभरामा केवल कार निर्माण सुरु भएपछि नो कवलकार समूहले विभिन्न खाले आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । आन्दोलनका क्रममा प्रहरीको गोली लागि ४ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको उपचार भइरहेको छ । एक जना भने उपचार पछि घर फिरेका छन् । प्रहरीले दमन गरेको भन्दै माघ १५ गते मेची राजमार्ग र तमोर कोरिडोर बन्दको आव्हान गरिएको छ ।

बन्दका कारण त्यस क्षेत्रको सवारीका साधन चल्न सकेका छैनन् । तमोर कोरिडोर र मेची राजमार्ग बन्द आव्हान गर्दा न सरकारले केवल कार बनाउने कम्पनीलाई काम रोक्न नलाएको भन्दै हिजोबाट अरुण पूर्वका नौ जिल्ला बन्द गरिएको छ । बन्दका कारण पहाडी जिल्लाको यातायात ठप्प भएको छ । झापा मोरङ सुनसरीमा पनि पूर्व पश्चिम सडक खण्डमा र सो सडक खण्ड उत्तर सवारीका साधन चल्न सकेका छैनन् ।