विराटनगर । सङ्घीय सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको विरोधमा आन्दोलन गरिरहेकाहरूलाई वार्तामा आउन आव्हान गरेसँगै आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पक्षले अमर तुम्याहाङ्गको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक, र शङ्कर सुब्बा सदस्य रहेका छन् । सरकारले हिजो गृह मन्त्रालयका सह सचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोली गठन भएसँगै आज आन्दोलनरत पक्षलाई वार्ताका लागि औपचारिक आव्हान गरेको थियो ।
पाथीभरा क्षेत्रमा केवल कार निर्माण सुरु भएसँगै नो सास्कृतीक भूमि अतिक्रमण हुने भन्दै विरोध सुरु भएको थियो । विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा गोली लागि ४ जना घाइते भएका थिए । घाइते मध्ये ३ जनाको उपचार भइरहेको छ । आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै माघ १५ गते देखि मेची राजमार्ग र तमोर कोरिडोर बन्द रहेको छ । यस्तै दुई दिनका लागि अरुण पूर्वका नौ जिल्ला समेत बन्द गरिएको छ ।