विराटनगर। विराटनगरको शैक्षिक क्षेत्रको ऐतिहासिक एवं राजनीतिक महत्वको आदर्श माविले ९६ औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । मंगलबार एक समारोहका बिच आयोजित वार्षिकोत्सव समारोहमा विद्यालयले शैक्षिक गुणस्तर अभिबृद्धिमा पछिल्ला वर्षहरूमा गरेको प्रगतिको प्रशंसा गरेका थिए ।
अधिकांश सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बन्दै गएको अवस्थामा आदर्श विद्यालयले गरेको प्रगति लोभलाग्दो बन्दै गएको भन्दै सहभागी खुसी व्यक्त गरे ।
विसं १९८६ सालमा पिताजी कृष्णप्रसाद कोइरालाको सकृयतामा सो विद्यालय स्थापित भएको थियो । अब विद्यालय स्थापनाको १०० बर्ष नजिक पुगेको छ ।
वार्षिकोत्सव समारोहमा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले व्यावसायिक र व्यवहारिक शिक्षामा आदर्शले काम थालेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका विभिन्न गतिविधिमा उत्कृष्ट हुने विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले प्राविधिक धारलाई पनि प्राथमिकता दिएको बताए । विद्यालयमा ३ हजार ६ सय विद्यार्थी अधययनरत रहेका पाेखरेलकाे भनाइ छ ।
वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले मार्चपास र नृत्य प्रदर्शन गर्नुका साथै रक्तदान समेत गरिएको थियो ।