इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को  कोशी प्रदेश अधिवेशनमा जनसङ्ख्या वृद्धि नीतिको माग उठेको छ ।

बुधबार इटहरी उपमहानगरपालिकामा भएको चौथो कोशी प्रदेश अधिवेशनको क्रममा प्याब्सनका पुर्वअध्यक्ष टिकाराम पुरीले सरकारले जनसङ्ख्या वृद्धि सम्बन्धी नीति ल्याउनु पर्ने माग गरेका छन् ।


युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदर समेत कम भएको भन्दै पुरीले जनसङ्ख्या वृद्धि नीति ल्याउनु पर्ने आवश्यक देखिएको बताए ।

बसन्तपन्चमी भर्खरै गयो । त्यो दिन विद्यार्थी भर्ना गर्ने परम्परा छ पुरीले भने, तर, खै मैले हेर्दा देख्दा र तथ्याङ्क हेर्दा कमजोर देख्छु । जन्मदर कम भएको छ । मुख्यमन्त्री मार्फत सङ्घीय सरकारलाई जनसङ्ख्या वृद्धि नीति ल्याउन माग गर्दछु।


पूर्वअध्यक्ष पुरीले यो माग राख्दै गर्दा अधिवेशन स्थलमा हाँसो छुटेको थियो । हलमा हाँसो छाए पनि  पुरीले आफ्नो मागलाई सिरियस रुपमा मुख्यमन्त्रीलाई हेर्दै जनसङ्ख्या नीति वृद्धि बनाउनु पर्ने माग राखे ।

उनले भने, देशभर कम्तीमा स्थिर ५ करोड जनसङ्ख्या हाम्रोमा चाहिन्छ । मुख्यमन्त्री ज्युलाई यो विषयमा गम्भीर ध्यानाकर्षण गराउँछु ।