सुनसरी । ताप्लेजुङको पाथिभारामा केवलकार निर्माणको विरोधमा उत्रिएको आन्दोलनरत ‘नो केबलकार’ समुहले पुनः आन्दोलनको घोषणा गरेको छ । 

उच्च स्तरीय नेतृत्वसँग मात्र वार्ता गर्ने अडान लिएको आन्दोलनरत पक्षले सरकारले वार्ता समिति गठन नगरेको भन्दै नयाँ चरणको आन्दोलनको घोषणा गरेको जनाएको छ । 

माघ २९ गतेदेखि फागुन ९ गतेसम्मका लागि ७ वटा आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । 

आन्दोलनरत पक्षले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकार आफ्नो प्रतिवद्धताप्रति इमान्दार नभएको आरोप लगाएको छ । 

जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्णायक उच्चस्तरीय वार्ता समिति नबनाई अल्मलाउने, थकाउने र लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाएर जसरी पनि केबलकार बनाउने मुडमा सरकार रहेको देखिएको हुँदा सडकमा जान वाध्य भएका छौं ।’

दोस्रो चरणमा माघ २७ गते बेलुकीसम्म उच्च स्तरीय वार्ता समिति गठन गर्न अल्टिमेटम दिएको थियो । सो समयमा सरकारका तर्फबाट कुनै पहल नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । 

जारी गरिएको आन्दोलनको कार्यक्रममा आइएमइ समूह बहिष्कार गर्नेदेखि फुङलिङ नगरपालिका घेराउसम्मका कार्यक्रम राखिएका छन् । अनिश्चितकालीन यातायात बन्द र आमहड्तालको समेत घोषणा गरिएको छ ।