सुनसरी । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ ।
आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा प्रदर्शनी आयोजना गरिने भएको हो ।
प्रदर्शनीमा समसामयिक चित्रकला, परम्परागत चित्रकला, समकायिक मुर्तिकला, परम्परागत मुर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारु, सन्थाल, राजवंशी, खवास लोककलाहरु, रैथाने कलाहरु प्रदर्शनी हुने ललितकला प्रतिष्ठानले जनाएको छ । यस्तै प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गीकलाको समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न थालेको हो । गत वर्ष कोशी प्रदेशका १४ जिल्लाका १४६ कलाकारहरूको सहभागिता थियो ।
त्यसक्रममा राष्ट्रिय कला प्रदर्शनीमा ६० जना कलाकारहरूले विभिन्न कलाका क्षेत्रमा आफ्ना उत्कृष्ट कृतिहरू प्रदर्शन गरेका थिए। यस पटकको प्रदर्शनीमा १५ हजारभन्दा बढी दर्शकहरू सहभागी हुने लक्ष्य राखिएको छ । प्रादेशिक प्रदर्शनीका लागि संयोजक संजय वान्तावा को संयोजक्त्त्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।