इटहरी । इटहरी उपमहानगरपालिका ३ स्थित खोर्साने खापको गाउँ बाढीको उच्च जोखिममा परेको भन्दै ड्याम निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ  । 
कोशी प्रदेश सभाको बुधवारको बैठकमा सुनसरीकी सांसद निरादेवी खनालले खोर्साने खापको गाउँ र गाउँ जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको भन्दै ड्याम निर्माण गर्न माग गरेकी छिन् । 
प्रदेश सभामा बोल्दै सांसद खनालले दुई तिरबाट खोलाले घेरिएको खोर्साने खाप माथिको ड्याम अघिल्लो वर्षको बाढीले फुटाएको बताइन् । यो वर्षको बर्षायाममा खोलाले कटान गरी गाउँ र गाउँ जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको भन्दै तत्काल ड्याम निर्माण गर्न माग गरिन् । 
‘१५० घरधुरी बसोबास गर्ने खोर्साने खापका बासिन्दा तथा विद्यार्थीहरू सोही झोलुङ्गे पुल मार्फत वारपार गर्छन्’ सांसद खनालले भनिन्,‘ नानीहरूले पढ्नबाट वञ्चित हुनु नपरोस् । बेलैमा त्यो ड्याम बन्यो भने मात्रै त्यो ठाउँको संरक्षण हुन्छ ।मैले सभामुख मार्फत ध्यानाकर्षण गराएँ ।’
ड्यामका कारण गाउँ र झोलुङ्गे पुल जोखिममा परेको विषयमा मन्त्रीलाई समेत जानकारी गराएको बताउँदै सांसद खनालले बर्खा लाग्नु अघि नै ड्याम निर्माण गर्न माग गरिन्  । 
इटहरीको टेङ्ग्रा खोला र मोरङको बुढिखोलको बिचमा अवस्थित छ, खोर्साने खाप । टेङ्ग्रा खोला पारी पर्ने सो गाउँका स्थानीयलाई वर्षको समयमा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुँदै आएको थियो । पछि झोलुङ्गे पुल बनेपछि भने सहज भएको थियो । तर अघिल्लो वर्षको बाढीले गाउँ माथिको ड्याम फुटाए पछि पुल जोखिममा परेको छ ।