विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मोरङमा पार्टी निर्माणमा गुटबन्दी भएको भन्दै पार्टी कमजोर भएको बताएका छन् । विराटनगर महानगरपालिकाले सुरु गरेको जरा केन्द्रित अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मोरङमा दुई वटा कारणले पार्टी निर्माणमा समस्या भएको बताए । पोखरेलले भनेको दुई वटा कारणमा कोसी प्रदेशको अधिवेशन र खानेपानी चुनावले पार्टी निर्माणको टिममा समस्या आएको उल्लेख गरेका हुन् । ‘हामी आफ्नै समस्यामा रुमल्लिन्छौँ भने हामीले राष्टको चुनौतीहरूमा काम गर्न सक्दैनौँ, उनले भने, नेता त्यो हुन्छ जसले राष्ट्रका चुनौतीहरूलाई समाधान गर्ने कुरालाई अग्रसरता लिन्छ ।’ उनले पार्टी पङ्क्ति भित्र असमझदारी ल्याएर कुनै पनि सफलता हासिल गर्न नसकिने बताएका पोखरेलले त्यस्ता गतिविधि गर्ने व्यक्ति गुटको नेता बने पनि देशको नेता बन्न नसक्ने दाबी गरे ।
कोसी प्रदेशको अधिवेशन तथा विराटनगरको खानेपानीको कारणले गर्दा पार्टी निर्माणको जुन काम गर्नु पर्ने थियो त्यो अनुसार काम हुन नसकेको बताए । पार्टी सङ्गठन निर्माण गरेर अभियानमा लाग्नु पर्नेमा अभियान अनुसार काम हुन नसकेको बताए ।
२०७९ को निर्वाचनमा ६ लाख मत एमालेले गुमाएको स्मरण गर्दै पोखरेलले प्रत्येक कार्यकर्ताले ५ मत सुरक्षित गर्दै २ मत बढाउने भनिएकोमा ६ लाख मत गुमाउनु परेको बताए । निर्वाचनमा सबै भन्दा बढी असर परेको क्षेत्र मोरङ जिल्ला पनि भएको बताए । ठुला ठुला चुनौतीलाई सामना गरेको मोरङ जिल्ला कमिटी मत रक्षा गर्ने कुरामा सफल हुन नसकेको भन्दै जिल्ला कमिटीको आलोचना गरे ।