विराटनगर । नो केवलकार पक्षधरले पाथीभरामा केवलकार निर्माणको समर्थन गरेको भन्दै एक स्थानीय नेतालाई सार्वजनिक स्थलमा दुर्व्यवहार गरिएको छ । याक्थुङ चुम्लुङका उपाध्यक्ष पदम चेन्जी मावोमाथि सार्वजनिक स्थलमै मोसो दलेर हातपात गरिएको हो ।
धरान ९ स्थित पुतली लाइनमा याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर ‘नो केबलकार समूह’ ले चेन्जीलाई मोसो दलेका थिए ।
याक्थुङ चुम्लुङको फागुन १ गतेदेखि धरानमा महाधिवेशन भएको थियो । महाधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नै मावोलाई मोसो दलेर दुर्व्यवहार गरिएको प्रहरीले जनाएको छ ।
मावोको समूहले लिम्बूहरू किराँत नभएको भन्दै छुट्टै अभियान सञ्चालन गर्दै आएको छ । जसपा धरानका उपाध्यक्ष सुमन चेम्जोङ, अमर इजमलगायतका नेताहरू पत्रकार सम्मेलनस्थलमा घुसेका थिए । पत्रकार सम्मेलन स्थलकै क्रममा ‘वंश गद्दार’ को नारा लगाउँदै मावोमाथि हातपातसमेत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
माबो ताप्लेजुङका स्थायी बासिन्दा हुन् । माबोले केवलकारको विरोध गर्नेहरुलाई सामाजिक सञ्जालमा अनेक लान्छना लगाएर लेखेको कारण कालोमोसो दलिएको मुक्कुमलुङ संरक्षण संघर्ष समितिको दाबी छ । माबोले आफूलाई मालोमोसो दलेर दुर्व्यवहार गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । उनलाई हाल सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।