विराटनगर । पत्रकार गिरिराज बाँस्कोटाको पुस्तक ‘नेपालमा हाब्रे’ विमोचन भएको छ । शनिबार इलाममा एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको हो ।
पत्रकार बाँस्कोटाले सम्पादन गरेको पुस्तक ‘नेपालमा हाब्रे’ इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश वन मन्त्रालयका सचिव विशाल घिमिरे लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन ।
पुस्तक रेडपाण्डा नेटवर्क र श्री दीप ज्योति युवा क्लबले प्रकाशन गरेको हो । पुस्तकमा नेपालमा हाब्रेको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश छन् ।
पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाईं, विप्लव भट्टराई, भिम चापागाईं, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतका लेख पनि समावेश गरिएको छ ।
कार्यक्रमका अतिथीहरुले पत्रकार बाँस्कोटालाई पुस्तक प्रकाशन गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उनीहरुले पुस्तकले कोशी प्रदेशमा हाब्रे बारे नीति निर्माण गर्न तथा संरक्षणमा सहयोग पुग्ने बताए ।
पुस्तकमा पूर्वी नेपालमा हाब्रे संरक्षणमा सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास,समुदायको सक्रियता बारे जानकारी दिने लेखहरु समावेस भएको सम्पादक बाँस्कोटाले बताए । बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व अध्यक्ष हुन् ।