इटहरी । इटहरीस्थित जनता स्कुलको यस वर्षको भर्नामा समेत अविभावकहरुको उत्साहजनक चासो देखिएको छ । 

सरस्वती पुजाकै दिन ३५० वटा आवेदन आएकोमा निरन्तर आवेदन दिने विद्यार्थीहरु बढिरहेको प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिएका छन् । 

उनका अनुसार यस वर्ष सेक्टर १ मा १८५ र सेक्टर २ मा २४० जना विद्यार्थी भर्ना लिन लागिएको छ । जसअनुसार सेक्टर १ मा नर्सरीमा २५ जना र कक्षा ६, ७, ८ र ९ मा ४०–४० जनाका दरले भर्ना लिन लागिएको छ भने सेक्टर २ मा कक्षा ४ देखि ९ सम्म ४०–४० जनाका दरले विद्यार्थी भर्ना लिन लागिएको हो । दुवै सेक्टरमा अंग्रेजी माध्यमबाट पढाइ हुने बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार अहिले विद्यालयको दुवै सेक्टरमा कक्षा कोठा थप भएकोले थप विद्यार्थी भर्ना लिन लागिएको हो ।

‘हाम्रो सिट संख्याभन्दा दोब्बर बढी आवेदन परेकाले अध्ययन गर्न नपाएका विद्यार्थीहरुलाई यो वर्ष केही अवसर सृजना भएको छ,’ उनले भने, ‘भवन र कक्षा कोठा थप भयो भने हामी सबै इच्छुक अविभावकहरुका बालबालिकाहरुलाई पढाउन सक्ने गरी व्यवस्थापन गरेका छौं ।’

विद्यालयले भौतिक पुर्वाधार र शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापलाई पनि सुधार गर्दै लगेको छ । जनता स्कुल सुनसरीकै उत्कृष्ठ स्कुलको रुपमा प्रदेश सरकारबाट पुरस्कृत भइसकेको छ ।

add