विराटनगर । नेपाली काँग्रेसले कोशी प्रदेशमा चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु)को चुनावको समन्वय गर्ने जिम्मेवारी सहमहामन्त्री भीष्म आङ्देम्बेलाई दिएको छ । भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्व्य गर्ने गरी प्रदेशगत जिम्मेवारी दिइएको हो ।
स्ववियु निर्वाचन नजिकिएसँगै पार्टीका नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको छ ।अन्य प्रदेशमा भने, सहमहामन्त्रीहरू महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी तोकिएको छ । साथै, लुम्बिनीमा नेताहरू चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई खटाइएको छ ।
पार्टी शीर्ष तहबाट महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी पाएका छन् ।
महामन्त्री शर्मालाई पार्टीले यसअघि संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनको बेलामा समेत पार्टीले परिचालान समितिको संयोजक तोकेको थियो ।
प्रदेशगत जिम्मेवारी पाएका नेताहरूले नेविसंघभित्र देखिएको विवाद मिलाउने समेत कार्य गर्नेछन् । नेविसंघमा दुई समूहको विवाद छ । सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला पक्षका विद्यार्थी नेताहरूबीच भएको विवाद तल्लो तहसम्म पुगेको छ ।
केही दिन अघि मात्रै मोरगं जिल्लामा दुई समुह बीच झडप भएको थियो । विवाद बढ्दै गएपछि १२ जना केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा नेविसंघ मोरङको अध्यक्षमा मोहमद तनवीरलाई चयन गरेको चिठी दिएका थिए ।
महामन्त्री शर्माले स्ववियु चुनावलाई लक्षित गर्दै सर्कुलर जारी गरेका छन् । प्रदेशलाई ७ र जिल्लालाई ११ बुँदे सर्कुलर पठाइएको छ। प्रदेश र जिल्ला पार्टी संरचनाले गर्नुपर्ने कार्यहरु उल्लेख गरी सर्कुलर पठाइएको छ ।