विराटनगर । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा पुगेको छ । 
विराटनगरको सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधिको नजिक पुगेको हो ।
लाक्पा पाख्रिनले गरेको गोल नै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । विदेशी खेलाडी एबायोमीले निकालेको लामो पासलाई लाक्पाले ७० औँ मिनेटमा गोल गरेका थिए । 
जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधवार थ्रीस्टारको सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । 
पटक–पटक अवसर पाए पनि विराट गोल्डकपको चौथो संस्करणको विजेता पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा सेमिफाइनलमै टुङ्गियो । २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले उपाधि जितेको थियो । 
चर्च ब्वाइजले यो सिजनमा भएको २४ औँ आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ ।  ३० माघमा पोखरामा भएको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो । 

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।  विराट गोल्डकपको विजेताले ११ लाख र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।