सुनसरी । इटहरीमा प्रहरीले बेहुला बेहुली र विवाह गराउने पण्डितलाई जग्गेबाटै पक्राउ गरेको छ । 

बालविवाह गराउँदै गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यलय इटहरीले इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट सोमबार दिँउसो विवाहको जगेबाटै बेहुला र किशोरी  बेहुली, उनीहरुका बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो । 

नेपालको प्रचलित कानुन अनुसार केटीको उमेर २० बर्ष पुगेपछि मात्रै विवाहका लागि योग्य मानिन्छ । तर सोमबार विवाहका लागि तयार गरिएकी बेहुलीको उमेर १८ बर्ष मात्रै रहेको प्रहरीले जनाएको छ । 

प्रचलित काुननको उलङ्घन गरी बालविवाह गराउँदै गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । 

पक्राउ पर्नेहरूमा बेहुला इटहरी ११ बस्ने २८ वर्षीय उपेश नेपाल, रामधुनी ६ बस्ने १८ वर्षीय बेहुली, विवाह गराउने पण्डित इटहरी ११ बस्ने ४५ वर्षीय दिनेश कुमार भटराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेश कुमार दाहाल छन् ।

बाल विवाह गर्ने र गराउने बुवाहरू र पण्डित सबैलाई अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । 

सोमबार इटहरीको राधाकृष्ण मन्दिरमा बेहुली पक्षका आफन्त विहानै देखी भेला भएका थिए । विवाहको सबै तयारी गरिएको थियो । बेहुला पक्ष जन्ति सहित मन्दिरमा पुगे । जन्ती पुगेपछि बेहुलीलाई बाहिर ल्याउँदा उपस्थित सबै छक्क परे । बेहुली कलिलो उमेरको देखेपछि सबैले मुखामुख गरे । 

बेहुला पक्षलाई आफन्तहरूले यो उमेरमा यसरी विवाह गर्नु भनेको बाल विवाह मानिन्छ, यो गलत हो, यसलाई रोकौँ भनेर आग्रह गरे । तर अटेरी गरी विवाह अघि बढ्ने भएपछि नगर बाल सञ्जाल इटहरी मार्फत प्रहरीलाई खवर पुग्यो । 

नगर बाल सञ्जालका प्रतिनिधि सहित प्रहरी मन्दिर स्थलमा पुग्यो । त्यसपछि प्रहरीले जग्गेबाटै बेहुला बेहुली,उनीहरुका बुवा र विवाह गराउने पण्डितलाई प्रहरीले पक्राउ गर्यो । 

उनीहरुलाई बालविवाह कसुरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको सनुसरीका प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए । 

प्रहरीका अनुसार दुवै परिवार बिच मागी विवाह भएको जनाइएको छ । तर केटा केटी बीच प्रेम सम्बन्ध रहेको र उनीहरु भाग्ने अवस्था सृजना भएपछि विवाह गराउन लागिएको आफन्तहरुले बताएका छन् ।