विराटनगर । विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ । आधारभूत तह स्तरीय कक्षा १–५  तथा आधारभूत तह कक्षा ६–८ स्तरीय प्रतियोगिता सुरु भएको हो । आधारभूत तह कक्षा १–५ मा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । पोखरिया मा.वि.को आयोजना र विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा विराटनगरको समन्वयमाभएको प्रतियोगितामा सामुदायिक ८ र संस्थागत ८ विद्यालय सहभागी भएकोमा पहिलो चरणमा ८ वटा विद्यालय छनौट भएका छन् । बाँकी विद्यालयहरू बिचको प्रतियोगिता भोली फाईलन हुने विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।  त्यस्तै आधारभूत कक्षा ६–८ प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका १–८ सञ्चालित ३२ विद्यालय सहभागी भएका थिए ।  पहिलो चरणको प्रतियोगिताबाट १६ वटा विद्यालय बाहिरिएका छन् । सेमिफाइनल र फाईलन प्रतियोगिता बुधवार आयोजना हुने विद्यालयका प्रअ भट्टराईले जानकारी दिए ।  
पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउनको लागि यस्ता प्रतियोगिताहरू आवश्यक हुने बताए । महानगरपालिकाले हरेक वर्ष विद्यालय स्तरमा यस्ता प्रतियोगिताहरू गर्दै आएको उल्लेख गरे । 
कार्यक्रममा  महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत लगायतले धारणा राखेका थिए । विद्यालयका प्रअ खेमराज भट्टराईले स्वागत गरेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले गरेका थिए ।