सुनसरी– लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सुरु भएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित कोशी प्रदेश प्रहरी कार्यलयले सुरु गरेको अभियानको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार बिहान इटहरीमा उद्धघाटन गरेका छन । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्य सहित प्रदेशका १४ वटै जिल्लामा यो अभियान अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरिक्षक डिआइजी राजन अधिकारीले जानकारी दिए ।
६ बर्षअघि सुनसरीबाट सुरु भएको दुर्व्यसन विरुद्धको अभियान बुधबारदेखी कोशी प्रदेशमा विस्तार गरिएको हो । सुनसरी प्रहरी प्रमुख हुदा अभियानको परिकल्पना गरी सुनसरीमा अभियान सुरु गरेका अधिकारी कोशी प्रदेश प्रहरी प्रमुख भएपछी अभियानलाई प्रदेशब्यापी बनाइएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समेटेर अघि बढाइएको यो अभियानलाई प्रदेश र स्थानीय तहहरुले बार्षिक कार्ययोजनामै समेटर साथ दिएको डिआइजी अधिकारीले बताए । कार्यक्रमको उद्धघाटन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागुऔषध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको बताउदै यसको माध्यमबाट दुर्व्यसनको समस्या समाधानमा ठूलो जागरूकता र परिवर्तन ल्याएको बताए ।
जिल्ला प्रहरी कार्यलय सुनसरीको समुन्वयमा भएको कार्यक्रममा प्रदेश सरकारका बिभिन्न मन्त्रीहरु, स्थानीय तहका प्रमुख तथा बिभिन्न जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागीता रहेको थियो । उनीहरुले यो अभियानले दुर्व्यसनबाट बचाउन र युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने भन्दै सबैको सहयोग अपरिहार्य रहेको बताए ।
२०७५ साल माघ १४ गते सुनसरीमा जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘दुर्व्यसन विरुद्द ‘फ्यान’ अभियानको अवधारणा लागु गरेको थियो । अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १८ वटा माध्यमिक विद्यालयहरूलाई समावेश गरिएकोमा हालसम्म ७० वटा भन्दा बढी विद्यालयमा विस्तार भएको छ । अभियानबाट हालसम्म ७५ हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए ।