विराटनगर । विराटनगर महानगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आधारभूत तहको पुरस्कार पोखरिया मावि र ग्रिनल्याण्ड सेकेण्डरी स्कुलले जितेको छ । बुधवारदेखि विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा भएको हाजिरी जवाफ प्रतियोगिता अन्तरगत आधारभूत तह ६–८को पहिलो पुरस्कार पोखरिया माविले जितेको हो । त्यस्तै दोस्रो पुरस्कार मदन नगर आधारभूत विद्यालय, तेस्रो पुरस्कार सत्यनारायण मावि र सान्त्वना पुरस्कार बाल मावि रानीले प्राप्त गरेको हो । पुरस्कृत विद्यालयहरू प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः २१ हजार, १५ हजार, १२ हजार र ६ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै आधारभूत तह विद्यालय तर्फ कक्षा १–५ संस्थागत र सामुदायिक बिचको प्रतियोगितामा ग्रिनल्याण्ड सेकेण्डरी स्कुलले नगद २० हजार सहित प्रथम पुरस्कार प्राप्त गरेको छ । त्यस्तै अर्पण बोर्डिङ स्कुल द्वितीय हुँदै उसले १५ हजार प्राप्त गर्यो । एभरेस्ट सेकेण्डरी स्कुलले तृतीय पुरस्कार १० हजार र बाल मन्दिर आधारभूत विद्यालयले सान्त्वना पुरस्कार ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।
आधारभूत तह कक्षा १–५ मा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । त्यस्तै आधारभूत कक्षा ६–८ प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका १–८ सञ्चालित ३२ विद्यालय सहभागी भएका थिए । पोखरिया माध्यमिक विद्यालयको आयोजना तथा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको समन्वयमा भएको प्रतियोगिताका विजयी विद्यालयहरूलाई विराटनगर ३ का वडा अध्यक्ष वासुबहादुर बस्नेत, शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराई तथा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, प्रअ खेमराज भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए । पोखरिया माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।