विराटनगर । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्लबले ९ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरको सहिद रङ्गशालामा बुधवार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ०–२ गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।
थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दीपेश घलेले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पाँचौँ मिनेटमा अग्रता लियो । नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढङ्गले पोस्टको दिशा दिएका थिए । थ्रीस्टारले दोस्रो गोल ६३ औ मिनेटमा गर्यो । दीपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दीपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल नै टिमलाई उपाधि दिलाउन सफल भयो ।
उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो ।
थ्रीस्टारले पाँचौँ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यस बेला आर्मीलाई ३–० गोलले फाइनलमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।
चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइज कमजोर देखियो । प्रतियोगिताको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान एकराज बुढाथोकी घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे । विधागत पुरस्कारमा पनि थ्रीस्टारको वर्चस्व कायम भयो । उत्कृष्ट प्रशिक्षकमा थ्रीस्टारका गणेश खड्का घोषित भए । त्यसै गरी वेस्ट गोलकिपर थ्रीस्टारकै विवेक मगर, हाई स्कोर थ्रीस्टारका दीपेश घले घोषित भए । प्रतियोगिता भरीमा उनले दुई गोल गरेका थिए । उनीहरूले जनही नगद १५ हजार पाएका छन् । वेस्ट प्लेयर अफ टुर्नामेन्ट थ्रीस्टारका खेम राज श्रेष्ठ घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे ।
थ्रीस्टारले मच्छिन्द्र र त्रिभुवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको थियो । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो ।
यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
चर्च ब्वाईजले क्वाटर फाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।
फागुन १९ गतेबाट सुरु भएको गोल्ड कपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो । विजेता हुने टिमलाई कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,विराट गोल्डकपको संयोजक नवीन रिजाल गायतले पुरस्कार वितरण गरेका थिए ।