सुनसरी । नवौँ संस्करणको हराईजन राष्ट्रिय बास्केटबल रनिङ कपको उपाधिको लागि विभागीय टिम त्रिभुवन आर्मी र धरान बास्केटबल टिम भिड्ने भएका छन् । सोमबार भएको लिग चरणको अन्तिम खेलहरूमा समूह विजेता बन्दै आर्मी र धरानले उपाधि भिडन्त पक्का गरेका हुन ।
धरानस्थित श्रीमाबिको कोर्टमा सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा दुई पटकको च्याम्पियन आर्मीले काठमाण्डौको विशाल मिलन केन्द्रलाई ७६ का विरुद्ध ८९ स्कोरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
पहिलो क्वाटरमा २५–१३ स्कोरले पछि परेको आर्मीले दोस्रो क्वाटरमा २६–१७ को अग्रता कायम गर्‍यो । तेस्रो क्वाटरमा २६–२० र चौथो तथा अन्तिम क्वाटरमा २४–१४ स्कोर गर्दै आर्मीले पुनरागमन जीत निकाल्दै उपाधि होडमा पुगेको हो । समूह ए बाट लिग चरणको दुई वटै खेलमा शत प्रतिशत जित निकालेको आर्मीलाई फाइनल पुर्‍याउन कुल २६ स्कोर जोडेका रामकृष्ण घतानेले म्यानअफद म्याच घोषित हुँदै नगद ५ हजार पाए ।
सोमबार नै भएको दोस्रो खेलमा समूह बी मा रहेको धरानले विराटनगर बास्केटबल एकेडेमीमाथि ५८ का विरुद्ध ७४ स्कोरको जीत निकाल्दै आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
पहिलो क्वाटरमा २०–८ स्कोरको अग्रता लिएको धरानले दोस्रो क्वाटरमा १५–१४ को झिनो अग्रता लिए पनि तेस्रो क्वाटरमा २१–१८ र अन्तिम क्वाटरमा १८–१८ को बराबरी स्कोर जोडे पनि कुल ५८ का विरुद्ध ७४ स्कोरको जीत निकाल्न सफल भएको थियो । सो खेलमा धरानका सर्वधन राई म्यानअफद म्याच भए ।
उपाधि भिडन्त मङ्गलवार हुनेछ । विजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछ ।