विराटनगर । नेपाल  एकीकृत समाजवादी  कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का निर्वाचित भएकी छन् । मङ्गलवारबाट सुरु भएको समाजवादीको अधिवेशनबाट उनलाई अध्यक्ष घोषणा गरिएको हो । अध्यक्षका लागि ५ जनाको नोमिनेशन दर्ता गरिएको थियो । बुधवार राती मनोनयन दर्ता गरेपछि सर्वसम्मतका नाममा खड्कालाई अध्यक्ष घोषणा गरिएको हो । उनी यस अघि उप सचिव थिइन् ।
२०७४ मा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी खड्का सङ्खुवासभा १(१) मा पराजित भएकी थिइन् । उनी बाहेक कोशी प्रदेश अध्यक्षका लागि महेश रेग्मी, उपाध्यक्ष धर्म निरौला, केशव कुमार विष्ट र विनोद खड्काले उम्मेदवारी दिएका थिए ।
अध्यक्षका दाबेदार धर्म निरौलाले  सर्वसम्मतका नाममा सबै प्रतिनिधिलाई घर पठाएर अध्यक्षमा खड्काको नाम सुनाएको बताए  । उनले भने हिजै हामीले निर्वाचन गराऊँ भनेका थियौ । सर्वसम्मतको प्रयास गरौँ भन्दै अध्यक्ष मण्डलले आज सम्म राख्नु भयो । बिहान सबैलाई घर पठाएपछि उहाँहरूले घोषणा गर्नु भयो । प्रतिस्पर्धालाई रोकेर टिको लगाइयो । 

उनले हिजो निर्वाचन भएको भए आफूले  चुनाव जित्ने दाबी गरे । उनले आफ्नो पक्षमा ७० प्रतिशत प्रतिनिधि भएको समेत दाबी गरे । उनले भने,  बिहान सबैलाई घर पठाएर उहाँहरूले अध्यक्ष मण्डललाई घोषणा गर्ने अधिकार लिनु भयो । मैले मेरो कुरा राखेर हलबाट निस्किए ।

निरौलाले सर्वसम्मत नेतृत्व चयनका लागि आफूलाई अध्यक्ष मण्डलले बोलाएको बताए । छलफलमा म पाटी निर्माणका लागि केन्द्रीय सदस्य, पोलिट ब्युरो सदस्य छाडेर आएको हुँ निरौलाले भने उपाध्यक्ष भएको नाताले अध्यक्ष हुने पालो मेरो हो । यही अनुसारले दावे वारी छ । तर  कल छल बल र आलटाल गरेर टार्नु भयो । उनले भने, सबै  प्रतिनिधिलाई घर पठाएर २ सय प्रतिनिधि भएपछि चुनाव गरौँ भन्नु भयो  । अल्पमत प्रतिनिधि भएको बेला चुनाव गराउनु भयो भने अदालत जान्छु भनेपछि उहाँहरूले अध्यक्ष मण्डललाई नाम घोषणा गर्ने अधिकार लिएर अध्यक्षको नाम घोषणा गर्नु भयो ।
  
एकीकृत समाजवादी कोशीको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष राजेन्द्र राई थिए । उनी समाजवादीका उप महासचिव हुन् । यस्तै अध्यक्ष मण्डलमा राजन राई, जीवन राई खिनु लंगवा, अशेष घिमिरे र विद्या चाम्लिङ सदस्य थिए । अध्यक्ष मण्डलले उपाध्यक्षको नाम भने घोषणा गरेको छैन ।

अध्यक्ष मण्डलले सचिवमा भने जलेश्वरे राईको नाम घोषणा गरेको छ । उप सचिवमा भने एक जना भवानी शङ्कर विक दलित तर्फबाट हिजै सर्वसम्मत भएका थिए  । खुल्ला तर्फ भने छिरिङ लामाको नाम हलमा सुनाइएको छ । महिला उप सचिवको नाम भने घोषणा भएको छैन । एक जना महिला उप सचिवमा ३ जनाको उम्मेद्वारी परेको छ । उप सचिवमा   सिर्जना लामा, विक्रमी चौधरी र मिरा दाहालले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्षका आकाङ्क्षी रहेका महेश रेग्मी भने सम्पर्कमा आउन चाहेनन्  । उनी पनि पाटी निर्माणका लागि आफू योग्य भएको भन्दै अध्यक्षको दावेवारीमा थिए । उनले पनि निर्वाचन हुनु पर्ने माग राख्दै आएका थिए ।