विराटनगर । सङ्घीयता र गणतन्त्रको रक्षाका लागि भन्दै नेकपा एमाले कोशी प्रदेशले दमकमा जनजागरण सभा गर्ने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोशी प्रदेशले दाबी गरेको छ । दमकको पशु हाटमा हुने सभा कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताए ।
प्रेस चौतारी नेपाल कोशी प्रदेशले सभा स्थलमै आज गरेको पत्रकार सम्मेलनमा राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि औला उठाउने तत्त्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको बताए । उनले भने,हामीले ल्याएको सङ्घीय गणतन्त्र जनताको बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्ध हो, त्यसकै उपलब्धि रक्षाका लागि दमकमा सभा गरिन लागेको छ ।
चैत १५ गते काठमाण्डौमा हिंसा भड्काउने, लुटपाट गर्ने समूहलाई कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराइने राईले बताए । प्रतिगमनकारी शक्तिहरूलाई हामी जवाफ दिन चाहन्छौ, परिवर्तनको पक्षमा जनता जुनसुकै मूल्य चुकाउन तयार रहेका छन्, राईले भने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक आर्थिक रूपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन् । उनले सबै खाले यस्ता अराजक गतिविधिलाई निस्तेज पार्न नेपाली जनता सक्षम रहेको बताए ।
सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठुलो सङ्ख्यामा सहभागी रहने राईले जानकारी दिए । यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य सङ्ख्यामा सहभागी रहने उनले जानकारी दिए । पूर्वबाट आउने सहभागीहरूलाई रतुवा पुल पूर्वबाट नै सभा स्थलमा र्याली सहित प्रवेश गराइने छ । यस्तै पश्चिमबाट आउनेहरूलाई पश्चिम स्टेसनबाटै र्याली सहित सभामा प्रवेश गर्ने छन् ।
सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुने छन् । यस्तै विभिन्न कलाकारहरूले समेत प्रस्तुति दिने छन् । सभालाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।