सुनसरी । इटहरी उपमहानगरपालिका दोस्रो संस्करणको मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटहरीले इलामको माई नगरपालिका माथि ४२ रनको जीत निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
इटहरीले प्रस्तुत गरेको २ सय ७ रनको विजयी लक्ष्य पछ्याएको माई नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन मात्र बनाउन सक्यो । माई नगरपालिकाको लागि लभ कामतले सर्वाधिक ५० रन बनाए । ३३ बलको सामना गरेका उनले १ छक्का र ५ चौका प्रहार गरे पनि टिमलाई जिताउन सकेनन् । २४ बल खेलेका संदिप ढुङ्गानाले ३ छक्का र २ चौकाको मदतमा ३७ रन बनाए । सिवांस बजगाईँले ३१ र अनिल लामिछानेले २१ रन जोडे ।
इटहरीका प्रकाश कार्कीले ३ र जोसक खड्काले २ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । इटहरीको इनिङमा अङ्कित सुबेदी र गौरव कटुवालले अद्र्धशतकीय इनिङ खेले । अङ्कितले ३८ बलको सामना गर्दै ४ छक्का र ९ चौकाको मदतमा ७७ रन बनाए । गौरवले ६२ रन बनाए । ५० बलको सामना गरेका उनले ८ चौका प्रहार गरे । रितेष रायले ४० र रोहन शाहले नट आउट ११ रन बनाए । माई नगरपालिकाका श्याम यादव, संदिप ढुङ्गाना र अनिल लामिछानेले १–१ विकेट लिए । खेलको म्यानअफद म्याच इटहरीका अङ्कित सुबेदी घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार पाए ।
इटहरीले उपाधिका लागि शनिवार हुने झापाको दमक नगरपालिका र विराटनगर महानगरपालिका बिच हुने अन्तिम सेमिफाइनल खेलको विजेतासँग आइतबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा झापा, मोरङ, सुनसरी उदयपुर र धनकुटा जिल्लाका १८ वटा पालिकाको टिमहरूले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार पाउने प्रतियोगिता संयोजक सिपी पौडेलले बताए ।