सुनसरी । ‘माल पाएर चाल नपाए पछि कसको पो के लाग्छ र ?’ यो नेपाली उखान ठ्याक्कै मेल खान्छ इटहरीमा रहेको ताल तलैयामा राखिएका मूर्तिहरू हेरेपछि । पर्यटकीय स्थल ताल तलैयामा ढुंगाका २८ वटा कलात्मक मूर्ति छन् । एक दशकअघि विश्व प्रसिद्ध मूर्तिकारहरूले ढुंगा कुँदेर कला भरेका थिए । मूर्तिमा कुँदिएको कला र त्यसले व्यक्त गर्ने भावलाई देखेर पर्यटकको मनमा बेग्लै उत्साह जगाउँथ्यो । तर अहिले यी मूर्तिहरू कालो लेउले ढाएिका छन् । फोहोर जम्मा भएर मूर्तिमा कुँदिएका भावहरू मेटिन थालेका छन् । कतिपय मूर्तिहरू फुटेर चोइटिन थालेका छन् । कलात्मक बहुमूल्य मूर्तिको संरक्षणमा ध्यान नदिँदा बेवारिसे र जीर्ण बन्दै गएका हुन् ।
वन, जंगल, सिमसार र तालहरूले घेरिएको प्रकृतिले दिएको उपहारमा कलाकारले कुँदेका मूर्तिहरूले सुनमा सुगन्ध थपेका थिए । यहाँ मानिसको मुटु, आमाको प्रतिमा, माछाको प्रतिमा, पृथ्वी र विज्ञान झल्काउने कलात्मक मूर्तिहरू छन् । तर माल पाएर पनि चाल नपाएपछि यी सम्पदाहरू विरूप बन्दै गएका छन् । यिनको संरक्षणमा ताल तलैया संरक्षण तथा विकास समितिले खासै ध्यान दिएको छैन । न त स्थानीय सरकारले चासो देखाएको छ । 
murti1
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक मूर्तिकारहरूसँगै जर्मनी, जापान, मलेसिया, इजरायल, भारतबाट आएका प्रसिद्ध मूर्तिकारहरूले ढुंगा कुँदेर मूर्ति बनाएका हुन । धरानको सर्दु जलाधारबाट ल्याइएका ढुंगामा करिब एक महिनासम्म खोपेर मूर्तिकारहरूले कला भरेका थिए । प्रकृति र मानवबिचको सहअस्तित्व झल्काउने यी कलात्मक मूर्तिको महत्त्व बुझन् नसक्दा बहुमूल्य सम्पदा संकटमा परेका छन् ।  
जैविक विविधता, ताल, पोखरी, वन वनस्पति, वन्यजन्तुलगायतको अध्ययन अनुसन्धानका लागि पनि मानिसहरू यहाँ आउने गरेका छन् । वार्षिक ५ लाख आन्तरिक र बाह्य पर्यटकहरू आउने ताल तलैयामा संरक्षण तथा विकास समितिले मूर्तिकलाको महत्वलाई बुझ्‌न र बुझाउन सकेको छैन । लाखौँ आम्दानी गर्न सकिने अवसर खेर गएको छ भने संरक्षण अभावमा सम्पदाहरू जीर्ण बन्दै गएका छन् । यी मूर्तिहरूको बिजोग हेर्दा आप्‌mनै नाभीमा भएको सुगन्ध थाहा नपाएर बेखबर हुने कस्तुरी जस्तै सम्बन्धित निकाय र स्थानीय सरकार पनि उसै गरी बेखबर भएको आभास हुन्छ ।