सुनसरी । साविक विजेता विराटनगर महानगरपालिकाले दोस्रो संस्करणको मेयरकप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरी-९ स्थित जनता क्रिकेट खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा विराटनगरले इटहरी उपमहानगरपालिकालाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

इटहरीले प्रस्तुत गरेको १ सय ८२ रनको विजयी लक्ष्य विराटनगरले १९ दशमलव ५ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । विराटनगरका लागि मिनस थापाले सर्वाधिक ८७ रनको उत्कृष्ट इनिङ खेले । ४५ बलको सामना गरेका उनले ६ छक्का र ८ चौका प्रहार गरे । अटल शाहले २६ रन बनाउँदा कप्तान दिपेश कँडेलले नटआउट २० रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले रितेस रायको ६१ रनमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । इटहरीका लागि अंकित सुवेदीले २५ रन बनाउँदा गौरव कटुवाल र सुमन गहतराजले समान १९ रन जोडे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विराटनगरका दिपेश कँडेल घोषित हुँदै नगद ७ हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर इलामको माई नगरपालिकाका अनिल लामिछाने र बलर मोरङको कटहरी गाउँपालिकाका प्रेम कामत भए । उनीहरूले जनही ५ हजार रुपैयाँ पाए । उपाधि विजेता विराटनगरले नगद १ लाख रुपैयाँ र उपविजेता इटहरीले नगद ५० हजार पुरस्कार पाएका छन् । इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा कोशी प्रदेशका १८ पालिका सहभागी थिए ।