विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विगतका कामहरूको समीक्षा गर्दै आगामी दिन अझ फलदायी र सुखमय बनाउने बताएका छन् । नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीय संरचनाहरूलाई सबलीकरण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न सङ्घीयतालाई बलियो बनाउनु पर्ने बताए ।
मुख्यमन्त्री कार्कीले नयाँ वर्षमा प्रदेशका जनतालाई नयाँ उत्साह थप्नका लागि नयाँ वर्षको सुरुवातदेखि नै पर्यटन वर्ष २०८२ घोषणा गरेकोले प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउन यो एउटा आधारशिला तयार हुने बताए । मुख्यमन्त्री कार्कीले नयाँ वर्षमा नै लगानी सम्मेलन गरेर प्रदेशको सुख प्रदेशको विकास समृद्धिमा नयाँ इँटा थप्ने प्रयत्नसमेत भइरहेको उल्लेख गरेका छन् ।
'सीमित स्रोत साधनले जनताका आकाङ्क्षालाई भनेजस्तो पूरा गर्न नसके पनि सङ्घीयताको यो सात वर्षमा कोसी प्रदेश सरकारले धेरै काम गरेको उल्लेख गर्दै त्यसलाई तथ्यको आधारमा प्रस्तुत गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ', शुभकामना सन्देशमा उल्लेख छ। सङ्घ प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यबाट नै दिगो विकास र समृद्धि हासिल गर्न सकिने कार्कीको दाबी छ ।