विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ का शोभाकान्त साह तथा वेद शङ्कर सहितका आधार दर्जन बढीले आस्था नेपाल बचत तथा ऋण सहकारी संस्थाले बचत रकम फिर्ता नगरेको भन्दै विराटनगरको न्यायिक समितिमा उजुरी दिए । उजुरीको कारण थियो, सहकारीमा बचत गरेको रकम जोखिममा परेकोले रोक्का राखी असुली गरिदिनु भन्ने । २०८० साउन ५ गतेको निवेदन न्यायिक समितिमा परेपछि के भएको हो, भनी विराटनगरको न्यायिक समितिले त्यसको बारेमा जानकारी लियो । हिसाबकिताब पनि राख्यो । ८ जनाले दिएको उजुरीमा न्यायिक समितिले उनीहरूलाई छलफलमा बोलायो । सहकारीका सञ्चालक मध्येका एक राजेश हेडा घर बेचेर भाग्न लागेको थाहा पाएका बचत कर्ताले घर जग्गा रोक्का राखिदिन न्यायिक समितिले चिठी पठाएर छलफलमा बोलाएपछि रकम फिर्ता पाएको सहकारी पीडित शोभाकान्त देवले बताए । उनका अनुसार, विराटनगर महानगरपालिकाको न्यायिक समितिले सहकारी सञ्चालक राजेश हेडालाई पनि महानगरपालिकामा नै बोलाएर रकम फिर्ता गर्ने बारेमा छलफल चलाएको थियो, लगत्तै छलफल पछि २०८० साउन ८ गते नै मिलापत्र भयो ।’ रोक्का राखिएको उनको जग्गा न्यायिक समितिले फुकुवा गरिदियो । यो मुद्दामा न्यायिक समितिले बचत कर्ताको डुब्न लागेको विभिन्न व्यक्तिको ५३ लाख रुपैयाँ फिर्ता गराएको अर्का सहकारी पीडित वेद शङ्कर बताउँछन् ।
आस्था नेपाल बचत तथा ऋण सहकारी संस्थाको मात्रै चार वटा उजुरी अहिले विराटनगर महानगरपालिकाको न्यायिक समितिमा परेको थियो । एउटा मिलापत्र गराए लगत्तै केही समय पछि थप तीन वटा उजुरी परेको छ । आस्था नेपाल बचत तथा ऋण सहकारीको मात्रै उजुरी न्यायिक समितिमा परेको छैन, सहकारी सम्बन्धी ८ वटा उजुरी विचाराधीन अवस्थामा रहेको छ । विराटनगर महानगरपालिकाको न्यायिक समितिका अधिकृत शारदा थपलियाले सहकारीका उजुरीहरू अहिले न्यायिक समितिमा आउन थालेका र केही मिलापत्र गराएर पठाउने गरिएको बताइन् ।
विराटनगर १२ मा रहेको न्यु जनता बचत तथा ऋण सहकारी, नयाँ जीवन बचत तथा ऋण सहकारी संस्थाको विरुद्धमा सुबोधकुमार साह सहित २ जनाले निवेदन दर्ता गराएका छन् । यही सहकारीका विरुद्धमा पुष्पराज विश्वकर्माले ३ लाख १९ हजार बचत फिर्ता गरिदिन माग गर्दै निवेदन दर्ता भएको थियो । विराटनगर १२मा रहेको प्रभु बचत तथा ऋण सहकारी संस्थाका विरुद्ध मुन्ना महतो सहितका १८ जनाले बचत फिर्ताको लागि न्यायिक समितिमा निवेदन दिएका छन् । सहकारी ठगीसँग सम्बन्धित विषयहरू पनि न्यायिक समिति मार्फत मेलमिलाप हुँदै आएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् ।
उनका अनुसार, चालु आर्थिक वर्षको फागुनसम्म सहकारी बचत फिर्ता सम्बन्धी ४ वटा उजुरी परेको छ ।
गत आर्थिक वर्षमा ३ वटा सहकारी सम्बन्धी उजुरीमा न्यायिक समितिले बचत फिर्ता गराउनको लागि छलफल तथा मिलापत्र सहितको आदेश दिएको छ ।’ परेका उजुरीको आधारमा न्यायिक समिति अधिकांशको मिलापत्र गराएको छ । न्यु जनता सहकारीका पीडितहरूले दिएको उजुरीका आधारमा मेलमिलाप गराउन खोज्दा समेत नभएपछि सञ्चालक सिर्जना खातीका विरुद्ध ४० लाख ठगी गरेको उजुरीमा प्रहरीलाई लेखि पठाएको न्यायिक समितिले जनाएको छ । न्यायिक समितिले सुबोधकुमारको १ लाख ९७ हजार फिर्ता गराएको, आस्था नेपाल सहकारी संस्थाका विरुद्ध घनश्याम अग्रवालले दिएको उजुरीमा सुनुवाइ गर्दै सहकारी दर्ताको क्रममा राजश्व अनुसन्धान कार्यालय इटहरीमा राखिएको धरौटी १३ लाख ९२ हजार रुपैयाँ रोक्का राख्ने निर्णय गरेको छ । २०७६ भदौ २० गते ७ लाख फिक्स डिपोजिटमा राखिएकोमा त्यसको १५ प्रतिशतको दरले आउने गरी सो निर्णय गरेको महानगरपालिका न्यायिक समितिले जनाएको छ । प्रभु बचतका विरुद्ध मुन्ना महतो सहित १८ जनाले दिएको उजुरीमा ठगीमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयलाई लेखि पठाउने काम समेत न्यायिक समितिको संयोजक कार्कीले बताइन् । संयोजक कार्कीका अनुसार, ‘सहकारीका धेरै मुद्दाहरू न्याय सम्पादनको क्रममा आएका उजुरीका आधारमा मेलमिलापबाट नै टुङ्गो लगाउने प्रयास भएका छन् ।’
भिडियो रिपोर्ट